सार्वजनिक खरिद/निर्माणमा श्रमिक अधिकार र सामाजिक सुरक्षा ("सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३) : कार्यान्वयनका आयाम, नेपाली तथा विदेशी कामदारको स्थिति र सुधारका मार्गहरू
Ramesh singh
10 min read 111 views 0 comments
Share
सार्वजनिक खरिद/निर्माणमा श्रमिक अधिकार र सामाजिक सुरक्षा ("सार्वजनिक
खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३) : कार्यान्वयनका
आयाम, नेपाली तथा विदेशी कामदारको स्थिति र सुधारका मार्गहरू
परिचय
विकासको अर्थ केवल
भौतिक संरचनाहरूको ठूला खाका तयार गर्नु मात्र होइन, ती संरचनाहरू निर्माणमा आफ्नो पसिना बगाउने श्रमिकहरूको
जीवनस्तर र सम्मानजनक अस्तित्वको रक्षा गर्नु पनि हो। सार्वजनिक खरिद अनुगमन
कार्यालयले जारी गरेको "सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा
सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३" ले सरकारी
निर्माणदेखि उद्योग, परामर्श र सूचना प्रविधिसम्मका खरिदमा संलग्न श्रमिकलाई न्यूनतम ज्याला, बैंक खातामार्फत भुक्तानी र
सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको छ। श्रमिकको अधिकार र व्यवसायीको लागत
दुवैलाई सँगै सम्बोधन गर्ने यो प्रयास महत्त्वपूर्ण छ।
तर कानुनको सफलता
कागजमा होइन, कार्यस्थलमा नापिन्छ। नेपालका सडक,
पुल, सुरुङ र जलविद्युत आयोजनामा नेपाली श्रमिकसँगै ठूलो सङ्ख्यामा विदेशी श्रमिक
काम गर्छन्। भारतीय श्रमिक निर्माण क्षेत्रमा लाखौँको सङ्ख्यामा छन् भन्ने अनुमान
निर्माण व्यवसायीका सङ्गठनले गरेका छन्, तर यसको आधिकारिक अभिलेख छैन। ठूला प्राविधिक आयोजनामा
चिनियाँलगायत विभिन्न देशका प्राविधिक पनि संलग्न छन्। श्रम विभागका
तथ्याङ्कअनुसार ७४ देशका करिब २,३०० विदेशी नागरिकले श्रम इजाजत लिएका छन्। नेपाली श्रमिकको वैदेशिक रोजगारमा
पलायन र दक्ष जनशक्तिको अभावले यो अवस्थालाई थप जटिल बनाएको छ। यो पृष्ठभूमिमा
कार्यविधि कसरी लागू हुन्छ भन्ने प्रश्न नै यस लेखको विषय हो।
१. नेपाली श्रमिकका लागि कार्यविधिले के गर्छ?
अनुसूची–१ ले
श्रेणीअनुसार न्यूनतम पारिश्रमिक तोकेको छ। उदाहरणका लागि उच्च दक्ष श्रमिकको कुल
दैनिक दर रु. २,४०० हो। त्यसमध्ये रु. २,००० श्रमिकको खातामा जान्छ, र बाँकी रु. २०० सरकार र रु. २०० रोजगारदाताको सामाजिक सुरक्षा योगदान हुन्।
दफा १८ ले पारिश्रमिक अनिवार्य रूपमा श्रमिकको बैंक खातामार्फत दिन लगाएको छ र
श्रमिकबाट कमिसन वा ढरौटी लिन रोकेको छ। दफा १९ ले पहिलो दिनदेखि नै सबै श्रमिकलाई
सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न भनेको छ। दफा २१ ले सुरक्षा उपकरण, खानेपानी, शौचालय र दुर्घटनामा
उपचारको जिम्मेवारी रोजगारदातालाई दिएको छ। दफा २३ ले गुनासो सुनुवाइ र प्रतिशोध
निषेधको व्यवस्था गरेको छ। दफा ९ र अनुसूची–३ ले सीप परीक्षण, तालिम र पूर्वसिकाइको
मान्यता (RPL) मार्फत सीप प्रमाणीकरणको व्यवस्था गरेको छ।
तर यहाँ तीनवटा
व्यावहारिक चुनौती छन्:
अनौपचारिक रोजगारी जारी रहन सक्छ। साना ठेकेदारलाई लागत बढ्ने भएकाले उनीहरूले अनौपचारिक रोजगारीको बाटो खोज्न
सक्छन्।
सीप परीक्षणको पहुँच। दुर्गम क्षेत्रका श्रमिकलाई सीप परीक्षण र RPL को सुविधा पुग्न स्थानीय तहको सक्रियता चाहिन्छ।
ज्यालाको लागत। लागत वृद्धिलाई दफा १७ ले लागत अनुमानमै समावेश गर्न लगाएर सम्बोधन गरेको छ, जुन व्यवसायीका लागि राहत
हो। दफा १७(५) ले कुल श्रमिक लागतको अन्तिममा थप दश प्रतिशत सामाजिक सुरक्षा रकम
समावेश गर्न भनेको छ। दफा १७(६) ले परामर्श सेवामा पन्ध्र प्रतिशतसम्म ओभरहेड
राख्न सकिने व्यवस्था गरेको छ।
२. विदेशी श्रमिकको प्रश्न
(क) भारतीय श्रमिक: कानुनी स्थिति अस्पष्ट, अभिलेख कमजोर
श्रम ऐन दफा २२ को आशय: श्रम ऐन, २०७४ को दफा २२(१) मा "विभागबाट श्रम इजाजत नलिई रोजगारदाताले कुनै पनि
विदेशी नागरिकलाई श्रमिकको रूपमा काममा लगाउन पाइने छैन" भन्ने आशयको
व्यवस्था छ। यसमा भारतीय नागरिकको छुट्टै उल्लेख छैन। कूटनीतिक उन्मुक्ति वा
सन्धि–सम्झौताले छुट दिएको अवस्थामा इजाजत नचाहिने व्यवस्था अलग छ। नेपाल–भारत
मैत्री सन्धि, १९५० ले दुवै देशका नागरिकलाई बसोबास, व्यापार–व्यवसाय र आवागमनमा पारस्परिक सुविधा दिन्छ, तर यो सुविधाले श्रम
इजाजतबाट छुट दिन्छ कि दिँदैन भन्ने प्रश्नमा कानुनी व्याख्या र व्यवहार मेल
खाँदैन। यही अस्पष्टताका कारण भारतीय श्रमिक सरकारी अभिलेखमा लगभग देखिँदैनन् र
उनीहरूको सङ्ख्या ठूलो छ भन्ने अनुमान मात्र गरिन्छ।
खुला सीमाना र अभिलेख अभाव: भारतीय नागरिकलाई नेपाल प्रवेशमा भिसा आवश्यक पर्दैन।
त्यसैले "पर्यटक भिसा प्रयोग गरेर काम गर्छन्" भन्ने भनाइ तथ्यसम्मत
छैन। समस्या भिसाको होइन, श्रम इजाजत र अभिलेखको हो।
अनुसूची-२ को राहदानी आवश्यकता — दर्ता प्रणालीमा प्रवेश अवरोध: कार्यविधिको
अनुसूची–२ ले विदेशी श्रमिकको दर्ता निवेदनमा राहदानी र श्रम इजाजत नम्बर खुलाउन
लगाएको छ, दफा १५(२) ले वैध राहदानी राख्न लगाएको छ। खुला सिमानाबाट आउने धेरै श्रमिकसँग
यी दुवै नहुन सक्छन्, र उनीहरू दर्ता प्रणालीमै प्रवेश गर्न सक्दैनन्। यो नै कार्यविधिको सबैभन्दा
ठूलो कानुनी खाडल हो। सुधारको दिशा: श्रम मन्त्रालय, श्रम विभाग र अध्यागमन विभागले संयुक्त रूपमा (क) भारतीय
नागरिकलाई श्रम इजाजत चाहिने वा नचाहिने कानुनी स्थिति स्पष्ट पार्ने र (ख)
राहदानीको सट्टा मान्य वैकल्पिक सरकारी परिचयपत्रको व्यवस्था गर्ने काम गर्नुपर्छ।
उद्देश्य कसैलाई रोक्नु होइन, श्रमिकलाई अभिलेखमा ल्याएर सुरक्षित बनाउनु हो।
SSF पोर्टेबिलिटी: भारतीय मौसमी श्रमिकका लागि
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम भारत फर्किएपछि कसरी निकाल्ने वा
स्थानान्तरण गर्ने भन्ने कार्यविधिमा स्पष्ट छैन। यसबारे कोषको आफ्नै व्यवस्था
हेरेर स्पष्ट गर्नुपर्छ, र आवश्यक परे द्विपक्षीय सहमतिको सम्भावना पनि विचार गर्न सकिन्छ।
(ख) भारतीय बाहेक अन्य देशका श्रमिक
भारतीय बाहेक अन्य
देशका श्रमिकहरू प्रायः ठूला आयोजनामा दक्ष प्राविधिक, इन्जिनियर वा व्यवस्थापकका
रूपमा काम गर्छन्, र उनीहरूको अभिलेख श्रम विभागमा तुलनात्मक रूपमा बढी हुन्छ।
इजाजत प्रक्रिया फरक: श्रम इजाजत ILMIS प्रणाली मार्फत अनलाइन आवेदन आवश्यक छ, र गृह मन्त्रालय (अध्यागमन विभाग) को कार्य सहमति पत्र
अनिवार्य कागजात हो। नयाँ इजाजत आवेदन गर्दा प्रतिस्थापन योजना पेश गर्नुपर्छ
(नेपालीलाई दक्ष बनाई विदेशी श्रमिकलाई क्रमशः प्रतिस्थापन गर्ने), र श्रम नियमावलीको नियम
१२(१)(ग) अनुसार अवधि थप गर्दा प्रतिस्थापन योजनाको प्रगति विवरण पेश गर्नुपर्छ।
सीप हस्तान्तरणको अनुगमन अभाव: श्रम ऐनको दफा २२(५) ले रोजगारदातालाई नेपालीलाई सीपयुक्त
बनाई क्रमशः विदेशी श्रमिक प्रतिस्थापन गर्ने व्यवस्था गर्न लगाएको छ। कार्यविधिको
अनुसूची–७ का अनुगमन सूचकमा विदेशी श्रमिकको सङ्ख्या र इजाजत नभएका घटना छन्, तर सीप हस्तान्तरणको सूचक
छैन। यो थप्नु उपयोगी हुन्छ।
(ग) ज्यालामा समान व्यवहार
दफा १८(६) ले लिङ्ग, जात, जाति, धर्म, क्षेत्र र अपाङ्गताका
आधारमा भेदभाव निषेध गरेको छ, तर राष्ट्रियताको उल्लेख छैन। विदेशी श्रमिकलाई कम ज्याला दिएर नेपाली
श्रमिकलाई बाहिर धकेल्ने बाटो नखुलोस् भन्नका लागि अनुसूची–१ को न्यूनतम दर सबै
श्रमिकका लागि लागू हुने कुरा स्पष्ट पार्नुपर्छ। यसले नेपाली श्रमिकको रोजगारी
जोगाउँछ र विदेशी श्रमिकको शोषण पनि रोक्छ।
३. कार्यान्वयनमा सुधारका मार्गहरू
(क) सार्वजनिक निकाय र PPMO
लागत अनुमानमा स्पष्टता: दफा १७(५) अनुसार, सामाजिक सुरक्षा योगदान "कुल श्रमिक लागतको अन्तिममा
थप १०%" हो, कुल परियोजना लागतको होइन। दफा १७(६) ले परामर्श सेवाको लागत अनुमानमा
"अधिकतम १५% सम्म" ओभरहेड थप्न सकिने व्यवस्था गरेको छ, यो अधिकतम सीमा हो, "१५% अनिवार्य"
होइन।
रनिङ बिल भुक्तानीमा कडाइ: श्रमिकको बैंक खातामा रकम गएको र SSF योगदान जम्मा भएको प्रमाण
पेस गरेपछि मात्र भुक्तानी दिने। श्रम इजाजत जाँचलाई भुक्तानीको अनिवार्य सर्त
बनाउने।
e-GP प्रणालीको आधुनिकीकरण: दफा २७(२) ले पहिले नै
रोजगार केन्द्र प्रणाली, कोष प्रणाली, श्रम इजाजत अभिलेख, राष्ट्रिय परिचयपत्र प्रणाली र विद्युतीय खरिद प्रणालीबीच अन्तरआबद्धता कायम
गर्न भनेको छ। यो व्यवस्थाको तीव्र कार्यान्वयन आवश्यक छ। अध्यागमन विभाग यो
सूचीमा छैन, तर विदेशी श्रमिकको पहिचानका लागि त्यसलाई थप्नु उपयुक्त हुन्छ।
(ख) निर्माण व्यवसायी र संघ-संस्था
बिचौलिया (नाइके) प्रथाको अन्त्य: श्रम ऐनको दफा ४९ बमोजिमको इजाजतपत्र वा कार्यविधिको दफा ११
बमोजिम सूचीकृत श्रमिक आपूर्तिकर्ता मार्फत मात्र श्रमिक लिने। इजाजत नलिएका नाइके
वा मध्यस्थमार्फत मजदुर ल्याउने प्रवृत्ति त्याग्ने।
संघ-संस्थाको भूमिका: सदस्य कम्पनीहरूको आचारसंहिता बनाउने, साझा श्रमिक अभिलेख प्रणाली स्थापना गर्ने, सीप परीक्षण (RPL) मा सहयोग गर्ने, सदस्यहरूलाई सूचीकृत श्रमिक
आपूर्तिकर्ताबाट मात्र श्रमिक लिन प्रोत्साहित गर्ने।
(ग) श्रमिक र स्थानीय तह
स्थानीय तहको सहजीकरण: दफा १०(२) ले स्थानीय तहले "बैंक, वित्तीय संस्था, कोष, आन्तरिक राजस्व कार्यालय र
स्वास्थ्य बीमा बोर्डसँग समन्वय गरी निर्माणस्थलमै सेवा शिविर सञ्चालन गर्न
सक्ने" व्यवस्था गरेको छ। यो ऐच्छिक व्यवस्था हो।
सुधार सुझाव: यसलाई
अनिवार्य बनाउने, वा ठूला परियोजनाको खरिद सम्झौतामा "काम सुरु हुनुअघि शिविर आयोजना
गर्ने" सर्त राख्ने। एकभन्दा बढी स्थानीय तहबाट गुज्रिने सडक आयोजनामा
तहहरूबीच समन्वय कसरी हुन्छ भन्ने पनि स्पष्ट गर्नुपर्छ।
वित्तीय साक्षरता: दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई बैंक खाता सञ्चालन र किकब्याक
विरुद्ध आवाज उठाउन सक्ने बनाउन स्थानीय तहले सहजीकरण शिविर सञ्चालन गर्ने।
(घ) कारबाहीको स्पष्टता
रातो कार्ड र कालोसूची: दफा २५(१)(ख) अनुसार, कालोसूचीमा सिफारिस "रातो कार्ड कायम रहेको अवस्थामा
दोस्रो पटक उल्लङ्घन" हो। ३० दिनभित्र सुधार नगरेमा के हुन्छ, कार्यविधिमा मौन छ — यो
वास्तविक खाडल हो। सुधार सुझाव: "३० दिनभित्र सुधार नगरेमा, सफाइको अवसर सहित थप
कारबाही प्रक्रिया सुरु गर्ने" व्यवस्था गर्ने, "स्वतः कालोसूची" होइन। दफा २६ ले कारबाही
अघि सफाइको अवसर अनिवार्य गरेको छ।
भुक्तानी रोक्का: दफा २५(४) ले "रोक्का राख्नेछ" भनेको छ, "रोक्न सक्ने"
होइन। साथै दफा १८(८) ले सार्वजनिक निकायलाई व्यवसायीको भुक्तानीबाट कट्टा गरी
श्रमिकको खातामा सिधै भुक्तानी गर्न सक्ने अधिकार दिएको छ। तर दफा १८(१) ले मासिक
भुक्तानी अनिवार्य गरेको छ, जबकि कडा कारबाही तीन महिनापछि मात्र सुरु हुन्छ। दैनिक ज्यालादारी श्रमिकका
लागि यो अवधि लामो हो। साथै, सम्पूर्ण बिल रोक्का गर्दा अन्य श्रमिक र आपूर्तिकर्ताहरूलाई असर पर्न सक्छ, आनुपातिक रोक्काको व्यवस्था
गर्न सकिन्छ।
दण्ड होइन, कारबाही: कार्यविधिमा नगद जरिवानाको व्यवस्था छैन। कारबाहीका प्रकारहरू: रातो कार्ड, कालोसूचीमा सिफारिस, भुक्तानी रोक्का, सम्झौता अनुसार हर्जाना
कट्टी।
(ङ) प्रणाली अन्तरआबद्धता (दफा २७(२))
दफा २७(२) ले श्रमिक
कल्याण इकाइलाई रोजगार केन्द्र, कोष, श्रम विभाग, राष्ट्रिय परिचयपत्र प्रणाली र विद्युतीय खरिद प्रणालीबीच अन्तरआबद्धता कायम
गर्न भनेको छ। यो व्यवस्थाको तीव्र कार्यान्वयन आवश्यक छ। अध्यागमन विभाग यो
सूचीमा छैन, तर विदेशी श्रमिकको पहिचानका लागि त्यसलाई थप्नु उपयुक्त हुन्छ।
(च) गुनासो र गोपनीयता
दफा २३(६) ले
उजुरीकर्ताको पहिचान गोप्य राख्ने र प्रतिशोध निषेध गरेको छ। तर, कार्यस्थलमा रोजगारदाताले
गुनासो सुन्ने व्यक्ति तोक्नुपर्ने (दफा २३(२)) हुँदा, श्रमिकको पहिचान सजिलै
खुल्न सक्छ। दफा २३(४) ले श्रमिकलाई सिधै रोजगार केन्द्र वा इकाइमा उजुरी दिन
दिएको छ, तर गोप्य वा बेनामी माध्यम उल्लेख गरिएको छैन।
सुधार सुझाव: सूचनादाता संरक्षण संयन्त्र (whistleblowing) स्थापना गर्ने, गोप्य उजुरी च्यानल सिर्जना गर्ने। यो सुझाव दफा २७(४)-(६) (व्यक्तिगत
गोपनीयता ऐन, २०७५ बमोजिम डेटा संरक्षण) सँग जोड्न सकिन्छ, जसले कानुनी आधार दिन्छ।
(छ) चालु ठेक्काको सीमा (दफा ३०)
दफा ३० अनुसार, कार्यविधि लागू हुनुअघि
कार्यान्वयनमा रहेका खरिद सम्झौताहरू अघिल्लो सम्झौता अनुसार नै कार्यान्वयन
हुन्छन्। नयाँ न्यूनतम ज्याला, कारबाही प्रक्रिया, दर्ता, सामाजिक सुरक्षा, बिमा, भुक्तानी, विदेशी श्रमिक, गुनासो र मासिक प्रतिवेदन व्यवस्थाहरू कार्यविधि लागू भएपछि बोलपत्र आह्वान
गरिएको खरिदमा मात्र लागू हुन्छन्। यसको अर्थ दीर्घकालीन ठूला
परियोजनाहरू (सुरुङ, जलविद्युत्) मा, कार्यविधिको प्रभाव धेरै ढिलो हुन सक्छ।
सुधार सुझाव: सार्वजनिक निकायहरूले स्वेच्छाले विद्यमान
ठेक्काको व्यवसायीसँग सहमति लिएर, कम्तीमा न्यूनतम अनुगमन (जस्तै ज्याला भुक्तानी र SSF योगदान जाँच) लागू गर्न
सक्छन्।
४. कुन कुन निकायले के गर्ने?
सार्वजनिक निकाय: बोलपत्र कागजात र लागत अनुमानमा अनुसूची–१ का दर र दफा २८ का सर्त अनिवार्य
राख्ने। भुक्तानीअघि बैंक स्टेटमेन्ट र कोष योगदानको प्रमाण जाँच्ने (दफा
६(१)(ख))। कार्यस्थलमा नमुना श्रमिकसँग प्रत्यक्ष सोधपुछ गर्ने। उल्लङ्घन देखिए
प्रमाणसहित इकाइमा प्रतिवेदन पठाउने।
सार्वजनिक खरिद अनुगमन कार्यालय: श्रमिक कल्याण इकाइलाई पर्याप्त जनशक्ति र स्रोतसहित सक्षम
बनाउने। अन्तरआबद्धता छिटो सुरु गर्ने। विदेशी श्रमिक सम्बन्धी स्पष्ट मार्गदर्शन
श्रम र अध्यागमन निकायसँग मिलेर जारी गर्ने। समन्वय समितिको चार–चार महिनाको
बैठकमा विदेशी श्रमिकको अवस्थालाई स्थायी विषय बनाउने। अनुसूची–७ का सूचकको
तथ्याङ्क नियमित प्रकाशन गर्ने।
निर्माण व्यवसायी र उनीहरूका सङ्घ–संस्था: यो कार्यविधिलाई बोझ होइन, स्वस्थ प्रतिस्पर्धाको आधार
ठान्नुपर्छ। ज्याला र सामाजिक सुरक्षा नजोडी न्यून मूल्यमा बोलपत्र हाल्ने चलन अब
चल्दैन, किनभने ती लागत अनुमानमै समावेश हुन्छन्। इजाजतपत्र नलिएका नाइके वा
मध्यस्थबाट श्रमिक नलिने, दफा ४९ बमोजिम इजाजतप्राप्त वा दफा ११ बमोजिम सूचीकृत श्रमिक आपूर्तिकर्ताबाट
मात्र लिने। सङ्घ–संस्थाले सदस्यका लागि आचारसंहिता, साझा श्रमिक अभिलेख र सीप परीक्षण (RPL) मा सहयोगका कार्यक्रम
सञ्चालन गर्न सक्छन्।
श्रमिक र स्थानीय तह: श्रमिकले बैंक खाता र परिचयपत्रको महत्त्व बुझ्न र खातामा पैसा हालेर फिर्ता
माग्ने (किक ब्याक) जस्ता अभ्यासविरुद्ध उजुरी दिन सक्ने हुनुपर्छ। यसका लागि
स्थानीय तहले वित्तीय साक्षरता र सहजीकरण शिविर चलाउनुपर्छ।
निष्कर्ष
विकास भनेको केवल
पक्की सडक र ठूला पुल मात्र होइन, ती संरचनाहरू उभ्याउने श्रमिकको पसिनाको मूल्य र उनीहरूको भविष्यको सुरक्षा
पनि हो। यो कार्यविधि श्रमिक र व्यवसायीलाई एक-अर्काको विरोधी होइन, विकासका साझेदारका रूपमा
स्थापित गर्न ल्याइएको एक साझा दस्तावेज हो।
यसको सफलता तीनवटा
प्रश्नहरूको उत्तरमा निर्भर छ: के भारतीय श्रमिकहरूलाई अभिलेख प्रणालीमा ल्याउन
सकिन्छ (वैकल्पिक पहिचान संयन्त्र आवश्यक छ); के अन्य देशका श्रमिकहरूको प्रतिस्थापन योजना
वास्तवमै कार्यान्वयन भएको छ (अनुगमन आवश्यक छ); के नेपाली श्रमिकहरूले विदेशी श्रमिकहरूसँग समान ज्याला पाउन सक्छन् (दफा १८(६) मा
"राष्ट्रियता" थप्न आवश्यक छ)। यी तीनवटा प्रश्नहरूको समाधान मार्फत कार्यविधि लाई
जीवन्त बनाउन मदत गर्नेछ ।
सरकारको दृढ
इच्छाशक्ति, सार्वजनिक निकायको पहलकदमी, निर्माण व्यवसायीको उत्तरदायित्व, स्थानीय तहको सक्रिय
सहजीकरण र श्रमिकहरूको सचेतना — यी चारवटा मिलेर मात्र कानुनको अक्षरशः पालना गर्न
सकिन्छ, र नेपाली तथा वैध विदेशी श्रमिक सबैले न्याय पाउन सक्छन्।